काठमाण्डु, १५ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन ।
आज शनिबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको पनि बताएका छन ।
उनले भने, ‘विगतमा नेपाल दुई ठुला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दिगो हुन सकेन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबिचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’
उनले व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोसिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए ।
“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रीकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धि प्राप्त गरेका छौँ ।’