मल बीउको अभाव हुन दिइँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार १५ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, १५ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने बताएका छन । आज शनिबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

उनले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताएका छन । उनले धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताउँदै उनले सरकारले पूर्ण तागत लगाउने बताएका छन ।

कृषिमा यान्त्रिकीकरण र व्यवासयीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले किसानहरुले उत्पादन गरेका बस्तुहरुको न्यूनत्तम समर्थन मूल्य तोक्ने विषयमा सरकार गम्भीर भएर लाग्ने र यसलाई अझै व्यवस्थित गर्ने पनि बताएका छन ।

देशको कुल गार्हस्थ उत्पादनको २४ प्रतिशत कृषिको रहेको र त्यसमा पनि धानको १५ प्रतिशत रहेको भन्दैं प्रधानमन्त्री प्रचण्डले सडक सञ्जालको विस्तार, दुई छाक भातै खाने भन्ने सोच, जनसंख्या वृद्धि जस्ता विषयले बार्षिक अरवौं रुपैयाँको धान चामलको आयात हुने गरेको पनि बताएका छन ।

उनले बढ्दो आयातले परनिर्भरता चुलिंदै जानुका साथै व्यापार असन्तुलन पनि बढेको पनि बताएका छन । उनले धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने पनि बताएका छन ।

कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको भन्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us