सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ: घनश्याम भुसाल

काठमाण्डु टुडे २०८१ असार १५ गते १३:१० मा प्रकाशित

काठमाण्डु, १५ असार– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनले सहमतिकै आधारमा नयाँ नेतृत्व चयन गर्ने दाबी गरेका छन ।

आज (शनिबार) महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भुसालले यस्तो बताएका हुन । उनले पार्टीले सबै असहमतिहरू हल गरेर नयाँ नेतृत्व चयन गर्ने पनि बताएका छन ।

उनले पार्टीको नयाँ नेतृत्वले भत्किएको पुरानो वाम विकल्पलाई जोड्दै नयाँ विकल्पसमेत दिने पनि बताएका छन । उनले भने, ‘जसरी कमरेड पुष्पलालले पार्टी स्थापना गर्दा लिएको पहलकदमीले कयौँ दशकसम्म कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्‍यो, आज हामी समाजवादी कार्यक्रमका साथ हाम्रो गन्तव्य निश्चित गर्दछौँ ।

त्यो पनि एक मतका साथ । अनेक दृष्टिकोणलाई समाधान गरेर एकताबद्ध भएर त्यो कार्यक्रम र दस्ताबेज तयार गरेका छौँ । आगामी कार्यभार ती दस्ताबेजहरूलाई पारित गर्नुपर्नेछ । यसले दशकौँसम्म कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्नेछ ।’ भुसालले पार्टीको महाधिवेशन आफ्नो लागि मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनकै महापर्वको भएको पनि बताएका छन ।

कम्युनिस्ट आन्दोलनको विभाजन, निराशा, र सन्नाटा र त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेको अस्थिरतालाई चिर्नका लागि यो महाधिवेशनबाट एउटा धेरै प्रभावकारी, बलशाली र दूरगामी पहलकदमी आरम्भ गरिने उनले बताएका छन । उनले भने, विद्रोहपछि पार्टी बनेको ३४–३५ महिनामा हामीले अनेक हन्डर खाएका छौँ ।

हामीले यसबाट असाधारण शिक्षाहरू लिएका छौँ । कयौँ ठाउँमा हामीले क्षति पनि बेहोरेका छौँ,’ उनले भने, ‘जुन ठाउँमा आइपुगेका छौँ जसमा हामी गर्व गर्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us