काठमाण्डु, १४ असार– कांग्रेस सांसद प्रदीप पौडैलले एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु सरकारको असफलता भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले सरकारको असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहर्याइएको बताए । शिक्षाको गुणस्तर बढाउनेतर्फ सरकारले ध्यान नदिएको उनको भनाइ थियो । ‘५२ प्रतिशतभन्दा बढी ग्रेडिङभित्र परेन । ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ?’ उनले प्रश्न गरे ।
२ लाख ४२ हजार ३ सय १३ विद्यार्थीलाई सरकारले तिमी अयोग्य हौ । पढेर खान सक्दैनौँ । उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गरेको आरोप लगाए । सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा नमिल्ने उनको भनाइ थियो ।
‘सरकारले गुणस्तरीयता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपर्थ्यो । सरकार त्यतातिर लागेन । सरकारले त्यसरी पास फेल गर्ने प्रणालीलाई नै अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास हुने व्यवस्था गर्यो’, उनले भने ।