काँग्रेस–एमालेमाथि आरोप लगाउँदै फेसबुकबाटै बालेनले रोके नगरसभा

काठमाण्डु टुडे २०८१ असार १४ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १४ असार– महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।

मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठक स्थगित गरेका हुन् । शुक्रबार बिहान ८ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नगरसभा बैठक बोलाइएको थियो । तर, मेयर साह उपस्थित भएनन् । नगरसभा सदस्यहरु तीन घण्टा कुरेर ११ बजेपछि घर गए ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची थियो । महानगरका प्रवक्ता नवीन मानन्धरले तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको दाबी गरे । यद्यपि मेयर साहले फेसबुकमा नगरसभा स्थगन हुनुको अर्कै कारण लेखेका छन् ।

साहले काँग्रेस–एमालेका कारण बैठक स्थगन भएको आरोप लगाए । काँग्रेस–एमालेले बिपी कोइराला र मदन भण्डारीका नाममा करोडौंको कार्यक्रम राख्न माग राखेको र आफूले राणा शासनविरोधी आन्दोलनका चार शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको नाममा कार्यक्रम गर्न खोज्दा कुरा नमिलेको उनको दाबी छ ।

कांग्रेस–एमालेलाई नेपालको क्रान्तिमा चार शहीदहरुभन्दा धेरै आफ्ना नेताहरूको योगदान धेरै देखेर नगरसभा बैठक रोकेको आरोप उनको छ ।

यसअघि सोमबार नगरसभा बैठकमा काँग्रेस, एमाले र एकीकृत समाजवादीसहित चार दलका नगरसभा सदस्यले नीति तथा कार्यक्रममा संशोधन हालेको विषयमा बालेन आक्रोशित भएका थिए । विवादबीच नीति कार्यक्रम पारित नगरी नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us