काठमाण्डु, १३ असार– नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका छन ।
उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फर्छ्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने पनि बताएका छन ।
उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराएको पनि बताएका छन । सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरेका छन ।