काठमाण्डु, १३ असार– नेकपा माओवादी केन्द्रले वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का लाई पूर्ण केन्द्रीय सदस्यमा पदोन्नति गरेको छ । बुधवार बसेको केन्द्रीय कार्यालय बैठकको निर्णयअनुसार खड्कालाई केन्द्रीय सदस्यमा बढुवा गरेको गरिएको एक नेताले जानकारी दिए ।
यसअघि माघ २६ र २७ गते बसेको माओवादीको स्थायी समिति बैठकले खड्कालाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा विघटन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहसँगै उनी एमालेमा बसेका थिए ।
पार्टीमा फर्किन गरेको आग्रह नमानेपछि माओवादीले २०७८ वैशाख १० गते खड्कालाई कारबाही गरेका थियो । कारबाहीसँगै उनले राष्ट्रिय सभा सदस्य पद समेत गुमाएका थिए ।
उनी रायमाझी निकट नेता हुन् । भुटानी शरणार्थी काण्डमा रायमाझी जेल परेपछि खड्का गत १ गते माघमा माओवादी फर्किएका थिए । माओवादीमा रहँदा खड्का अर्घाखाँचीका इन्चार्ज समेत रहेका थिए ।