गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

काठमाण्डु टुडे २०८१ असार १३ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, १३ असार– सर्वोच्च अदालतले पद थमौती पाएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ ।

आज (बिहिबार) प्रदेश सभाको बैठका लागी संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् ।

उनले भने, ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छु । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’ अहिले संसद् बैठक चलिरहेको छ । देवकोटा भने फर्किने तयारीमा छन् ।

सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेशसँगै उनको संसद् पद कायम भएको छ । संसद् सचिवालयका कर्मचारीका अनुसार अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा आइसकेको छ ।

‘अदालतको पत्र आइसकेको छ । सभामुखको अधिकार हो । केही बोल्न मिलेन,’ एक कर्मचारीले भने, ‘अन्तरिम आदेश आएपछि रोक्न मिल्दैनथ्यो । सभामुखले हाजिर नगराउनुस् भन्ने आदेश दिनुभयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us