काठमाण्डु, १३ असार– राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै नतिजाबारे जानकारी दिएका हुन ।
कुल ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये महिला २ लाख ३१ हजार ५०३ जना र पुरुष २ लाख ३३ हजार २७० जना परीक्षामा सहभागी रहेका थिए । जसअनुसार पुरुष १ लाख १४ हजार ४८ र महिला १ लाख २८ हजार २५७ जना गरी कुल २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण (एनजी) हुँदा बाँकी विद्यार्थी विभिन्न जीपीएसहित उत्तीर्ण भए ।
बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।
नतिजाअनुसार ५२.१३ प्रतिशत अनुत्तीर्ण हुँदा ४७।८७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा महिला र पुरुषबाहेक अन्य समूहका ४ जना उत्तीर्ण भएका छन् । यस्तै ८ जना फेल भएका छन् । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शर्माले जानकारी दिए ।
यस्तै बोर्डले विभिन्न १३ जिल्लाका २२० परीक्षार्थीको परीक्षा रद्द भएको पनि जनाएको छ । नतिजाअनुसार दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, इलामका २, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । यस्तै रौतहटका १, महोत्तरीका ३९, खोटाङका ३, धनुषाका ४, सर्लाहीका ६, सत्तरीका १५४ र भोजपुरका १ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको हो ।