काठमाण्डु, १२ असार– नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहमत भएका छन् ।
यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले प्रतिवद्धता व्यक्त गरेका हुन ।
छलफलमा सहभागी नेता नरेश शाहीले भने, ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ ।’ सहमति अनुसार आगामी १६ असारदेखि काठमाण्डुको कमलादी स्थित प्रज्ञा भवनमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् ।
‘उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो । अन्ततः झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छ’, खनाल निकट स्रोतले भन्यो । ती स्रोतका अनुसार भूसालले पनि खनाललाई आफू उत्तराधिकारीका रुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् ।
तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध रहेको थियो । तर एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए ।
त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो । एक पदाधिकारीले भने, ‘लामै छलफल पछि एउटा टुंगोमा पुगेका छौं । अब माधव नेपालसँग पनि कुरा हुन्छ । सकेसम्म हामी घनश्याम भूसाल सर्वसम्मत अध्यक्ष बनाउन चाहन्छौं, ‘यो महाधिवेशनबाट हामी सर्वसम्मत रुपमा नयाँ नेतृत्वको सन्देश दिने प्रयासमा छौं ।’
तर अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी सुरु गरेका छन । चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।