गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाण्डु टुडे २०८१ असार १२ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, १२ असार– सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ ।

आज (बुधबार) बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन ।

उनले भने, ‘त्यसमध्ये ती सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरेका छौँ, ‘र विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति पनि मगाउने निर्णय भएको छ ।’

साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाले जानकारी दिएका छन ।

उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको उनले जानकारी दिएका छन ।

सहकारीको समग्र विषयको अध्ययनलाई सम्पन्न गर्दै कार्यदेशले तोकिएअनुसार समितिले अध्ययन गरिरहेको भन्दै समिति सभापति थापाले सहकारीको घोटला प्रकरणको दुधको दुध पानीको पानी बनाउने पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us