काठमाण्डु, १२ असार– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौरा रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले चौधरी र डगौराको चट्याङ लागेर मृत्यु भएको जानकारी दिएका छन ।
आफ्नै घर नजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका धनगढीका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन । जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो ।
उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन । चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एकरएक जना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएकी घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । टीकापुर र जानकीका घाइतेहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।