भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीको प्रदर्शन

काठमाण्डु टुडे २०८१ असार १२ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १२ असार– काठमाण्डुको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन ।

उनीहरुले बुधवार राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन उत्रीएका हुन ।

व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शनमा उत्रीएका हुन । अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो ।

तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले यसमा विरोध जनाएका हुन । यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूले बताएका छन ।

भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us