काठमाण्डु, १२ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न बैठक बोलाएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्न लागेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
उनले भने, ‘बोर्डको पूर्व तयारी बैठक बस्दै छ । त्यसमा आज नै नतिजा सार्वजनिक गर्ने विषयमा निर्णय हुने सम्भावना कम छ ।’ प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनले जानकारी दिएका छन ।
प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने जानकारी दिएका छन । नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ ।
अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो । बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड (एनजि) लेखिने भएको छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् ।
र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।