काठमाण्डु, १२ असार– निरन्तरको भएको वर्षासँगै खोलामा आएको बाढी विराटनगरको बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिएका छन ।
खोलाको बाढी विराटनगर महानगरपालिका–६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिएका छन । वडाका अन्य क्षेत्र पनि डुवानमा परेको उनले जानकारी दिएका छन ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन । पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध पनि गरेको छ ।
मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ । महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन् । वर्षाका कारण पानी जमेपछि सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ ।