
काठमाण्डु, ११ असार– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले सरकारतिर ध्यान नदिई ०८४ को चुनाव जित्ने गरी काम गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन ।
आज मंगलबार काठमाण्डुमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरुलाई नै छोडिदिन आग्रह गरेका छन । उनले भने, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो–जोले चलाएका छन्, चलाउन दिऔं, चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ ।
र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔं ।’ उनले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा ४० प्रतिशत मत ल्याउन सके एकल सरकार चलाउन सकिने बताएका छन ।
उनले भने, ‘धेरै पनि भन्दिनँ म, ०८४ सालको निर्वाचनमा कम्तीमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरिकन गयौं भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ’, थापाले भने ।
अबको चुनावमा गठबन्धन गर्ने, अर्को पार्टीसँग मिलेर सरकार बनाउने भन्ने कुरा नसोच्न पनि थापाले कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले भने, ‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौं । ’