‘निजामती सेवा क्षेत्रको समस्या मुख्यसचिवविरुद्धको भ्रष्टाचार मुद्दाले स्पष्ट भयो’: ठाकुर गैरे

काठमाण्डु टुडे २०८१ असार १० गते १५:१५ मा प्रकाशित

काठमाण्डु, १० असार– एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको बताएका छन ।

उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनुले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्ने कुरा स्पष्ट हुने बताएका छन ।

उनले भने, ‘भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ ।

माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ ।

त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा बताउँछ ।

हाम्रो निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्ने कुरालाई पनि बताउँछ । यो निजामतीमा मात्रै सीमित रहेर सम्भव छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us