काठमाण्डु, १० असार– प्रहरीले पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–५ का ३० वर्षीय किपेश महर्जन रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । बेटिङ वेभसाइडका एप्लिकेशनहरुमा डिभाइस इन्सटल गरी उनले अनलाइन जुवा खेलाउँदै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।
अनलाइन जुवा खेलाउन प्रयोग भएका ४ थान मोबाइलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले २ करोड ७२ लाख ९० हजार २५० रुपैयाँ बराबरको जुवा लेखाइसकेको प्रहरीको दाबी रहेको छ ।
पक्राउ परेका महर्जनलाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको प्रहरीले जानकारी दिएको छ ।