पोषराज पोखरेल २ दिनका लागि एआईजी

काठमाण्डु टुडे २०८१ असार १० गते १२:४३ मा प्रकाशित

काठमाण्डु, १० असार– दुई दिनका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ ।

गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले आज (सोमबार) डीईआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् ।

५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो ।

यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखरेल पनि अनिवार्य अवकाशमा जानेछन् । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् ।

प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

जसकारण पोखरेल एआईजीमा बढुवा नभएको खण्डमा पनि २० असारको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने थिए ।

तर १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको एआईजी बनाउन लागिएको हो । पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us