काठमाण्डु, ९ असार– राष्ट्रिय सभाको आज (आइतबार) बसेको बैठकले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ ।
अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । यस विषयमा सरकार नबोलिरहेको भन्दै सांसदहरुले रुलिङको माग गरेका हुन ।
आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जवाफ दिन गृहमन्त्रीलाई रुलिङ गरेका हुन् । अध्यक्ष दाहालले भने, ‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’
आकस्मिक समय, शून्य समयलगायत समयमा सांसदले उठाएका विषय सम्बन्धित मन्त्रीकहाँ पठाउने गरेको उनले स्मरण गरे । उनले भने, ‘हरेक दिन पठाएका छौं ।
यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै हामीले दिइसकेका छौं । यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौं ।’