कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ९ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ९ असार– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका९२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति ११ बजेर ५० मिनेटमा भे १ त ८७३५ को ट्याक्टर अनियन्त्रित भएर नालामा खसेको हो ।

दुर्घटनामा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ बस्ने २१ वर्षीय शेरबहादुर नेपाली र सवार २० वर्षीय दिलबहादुर नेपाली गम्भीर घाइते भएका थिए ।

राति नै उनीहरूको उद्धार गरेर उपचारका लागि लालरत्न अस्पताल लम्की पुर्‍याइएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक शेरबहादुरको उपचार सम्भव नभएपछि राति साढे १ बजे टीकापुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाइते दिलबहादुरको लालरत्न अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us