बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०८१ असार ९ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ९ असार– भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजना शिक्षकको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत रहेका थिए ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो । माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए । घाइतेको उद्धार भइसकेको उपाध्यक्ष सिंहले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us