हामीलाई हटाउन सजिलो छैन, पाँचै प्रधानमन्त्री हुने सम्भावना छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ असार ८ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, ८ असार– नेकपा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यो प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन ।

आज (शनिबार) तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले आफ्नो पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पुरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन । उनले भने, ‘अहिले डेढ वर्ष भयो तर म बसेकै छु र मैले जे देखेको छु सबै परिस्थिति ।

तरिका मिल्यो भने पूरै अवधि बसिन्छ, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।

त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन ।’ उनले आफू सत्ता समीकरणमा रहेका दलहरुबीचको समझदारीमा आफू इमान्दार रहेको बताएका छन । उनले भने, ‘हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो ।

त्यतापट्टि तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफ्नो काम गर्नुहोला’, प्रचण्डले पार्टीका कार्यकर्ताहरुलाई भने । अब छिट्टै केन्द्रीय समिति बैठक बसेर पार्टीका संगठनहरुलाई पनि चलायमान बनाउने निर्णय गर्ने उनले बताए । कार्यकर्तालाई फुर्सद नदिने गरी कामको जिम्मेवारी दिने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us