काठमाण्डु, ८ असार– कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०ः३० बजे बेदकोट नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्याइएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
सो घटनामा मोटरसाइकलमा पछाडि सवार बेदकोट नगरपालिका–८ बस्ने २७ वर्षीय मनोज चौधरी घाइते भएका छन् । उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
घटनापछि ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक बेलौरी नगरपालिका–६ बस्ने २४ वर्षीय रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।