बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ८ गते १६:११ मा प्रकाशित

काठमाण्डु, ८ असार– प्रहरीले बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा सिरानचोक गाउँपालिका–११ का ४१ वर्षीय कल्भिन जेम्स भन्ने रेशम गुरूङ र मकवानपुर बागमती गाउँपालिका–९ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ३३ वर्षीया मखमलीमाया स्याङतान रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–२६ स्थित ठमेलमा ए वान स्पा सेन्टरमा बालिकालाई डरत्रास देखाएर यौन व्यवसायमा लगाउने गोप्य सूचना प्रप्त भएको थियो ।

सोही सूचनाको आधारमा दुई जना बालिकालाई स्पा सेन्टरबाट उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिएका छन ।

ती बालिकाहरूलाई २०८० कात्तिकदेखि स्पा सेन्टरमा राखेर यौन व्यवसायमा लगाएको उनीहरूले बताएका छन् । सञ्चालक गुरूङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ब्युटीपार्लरमा काम लगाइदिने भन्दै यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us