पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, ८ असार– पर्साबाट प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ ।

गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन ।

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको पनि प्रहरीले जनाएको छ ।

बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us