
रेग्मी काठमाण्डु, ७ जेठ- सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूत सिफारिस गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूतमा सिफारिस भएका छन् । यसअघि बेलायतका लागि राजदूत रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बीचैमा फिर्ता बोलाएको थियो । उनी एमाले कोटामा सिफारिस भएका हुन् । एमाले कोटाबाटै राजदूत सिफारिस हुने अन्यमा चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क छन् । माओवादी कोटाबाट डा.विजय पन्त बेलायतका लागि राजदूत सिफारिस भएका छन् । पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भए । ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ जसपा कोटामा परेका हुन् ।