माल्टा पठाउँछु भन्दै ठगी गर्ने एक पक्राउ

काठमाण्डु टुडे २०८१ असार ७ गते १७:५७ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।

जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुली गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीका भतिज नाता पर्ने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us