राष्ट्रिय परिचयपत्र ‘गेम चेन्जिङ प्रोजेक्ट’ : गृहमन्त्री लामिछाने

काठमाण्डु टुडे २०८१ असार १ गते १८:५३ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको बताएका छन ।

आज (शुक्रबार) आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले अब राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने नागरिकलाई विभिन्न कार्ड बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुने पनि बताएका छन ।

उनले भने, ‘यहाँहरूलाई थाहा छ हरेक कार्यालयमा जाँदा नागरिकताको कपि दिनुपर्ने, पछाडितिर हस्ताक्षर गर्नुपर्ने, केवाइसी भर्नुपर्ने, बाबुबाजे र जन्म मिति जस्ता झन्झट छ, ‘अब हरेक चिज यसमा जोडिँदै जानेछ ।’ उनले सुरुमा यसको प्रयोगमा केही कठिनाइ भए पनि कालान्तरमा शेयर कारोबार, जग्गाको कारोबार होस् त्यसमा समेत समावेश गर्दै जाने पनि बताएका छन ।

उनले अहिले कतिपय अपराधमा संलग्नहरूले धेरै सिम कार्ड प्रयोग गर्ने गरेको भन्दै अब राष्ट्रिय परिचयपत्रको आइडी नम्बर हान्ने बित्तिकै धेरै कुरा पत्ता लाग्ने पनि बताएका छन । उनले भने, ‘यसले धेरै सुशासन लगायत समग्र नागरिकको सेवामा निकै ठुलो प्रभाव पार्नेछ, ‘यस्ता नीतिगत सुधारका कामले कति प्रभाव पार्छ मलाई थाहा छैन तर जुन अवधारणाका साथ नेश्नल आइडी नम्बरलाई हामीले अगाडि सार्न खोजेका छौँ यो साँच्चै नै देशका लागि गेम चेञ्जिङ प्रोजेक्ट हो ।’

उनले नेश्नल आइडी प्रयोगमा आएपछि अपराधको डोर सिस्टम बन्द हुने समेत बताए । सरकारले साउन ३१ गतेबाट २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लगायतमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पत्रकार सम्मेलनमा १८ हजार परिचयपत्र छापिरहेको जानकारी दिँदै एक करोड ४९ सेवाग्राहीको विवरण सङ्कलन गरिसकेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us