काठमाण्डु, ३२ जेठ– नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेका गण्डकी प्रदेशका ऊर्जामन्त्री एवं नेसपाका नेता समेत रहेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालत जाने तयारी गरेका छन ।
गण्डकी प्रदेश सभाबाट निलम्बनमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको जानकारी दिएका छन ।
देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको पनि बताएका छन । उनले सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिएका छन ।
२८ जेठमा देवकोटाले माओवादी संसदीय दलको ह्विप उलङ्घन गरी मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डेलाई विश्वासको मत दिएका थिए । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई बिहीबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शुक्रबार बिहान देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो ।
सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए ।