काठमाण्डु, ३१ जेठ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरू समाधान गर्नतर्फ लाग्नुपर्ने दाबी गरेकी छन ।
आज (बिहिबार) काठमाण्डुमा आयोजित ‘२१औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन ।
उनले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने पनि बताएकी छन । उनले भने, ‘यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौँ भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रूपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ ।
आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन । हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरू छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’
उनले मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गर्न सके परनिर्भर हुनु नपर्ने उनको तर्क थियो । त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले मिडियाहरू जनता र सरकारबिचको पुल बन्नुपर्ने पनि बताएकी छन ।