सांसद पौडेल र मेयर बालेनबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ ।

उनीहरु बीच आज बिहिबार भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र कठमाण्डु क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिएका छन ।

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबिच छलफल भएको स्रोतले जानकारी दिएको छ ।

बुधवार प्रतिनिधिसभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबिच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलङ्की धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ । भेटमा पौडेल र बालेनबिच काठमाण्डु महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो ।

टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौँ महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुई नेताबिच छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us