जमिनको कारणले जनतामाथि शोषण भइरहेको छ: मेटमणि चौधरी

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले जमिनको कारणले जनतामाथि शोषण हुने गरेको बताएका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन ।

जमिनकै कारण गरिब र धनी समाजमा रहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘जो कृषक हो, उसैसँग जमिन छैन ।’ उनले सबै जमिन सरकारको बनाउने नीति लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन ।

उनले भने, ‘सबै जमिन सरकारको नाममा ल्याउने खालको नीति हामीले बनाउन सक्नुपर्छ । यो दिशामा मुलुक अगाडि बढ्नुपर्छ ।

एउटै पोलिसी बनाएर समग्र जमिन सरकारको बनाउने कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’ । यसो गरे जमिनको कारणले जनतामाथि भइरहेको शोषण समाप्त हुने उनको विश्वास रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us