चक्कु प्रहारबाट घाइते भएका युवाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १३:५० मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ४ गोटीखोलाका २१ वर्षीय पदम केसीले बुधबार मध्यराति खड्कामाथि ढाडमा चक्कु प्रहार गरेको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलले जानकारी दिएको छ ।

घाइते खड्कालाई उपचारका लागि राति नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तुलसीपुरमा उपचार सम्भव नभएपछि राति नै बाँकेस्थित नर्सिङ कलेजमा रिफर गरिएको थियो ।

त्यहाँबाट उनलाई बुधबार बिहान थप उपचारका लागि भारतको लखनउ लगिएको थियो । उपचारका क्रममा बुधबार बेलुकी ७ बजेतिर लखनउमा उनको मृत्यु भएको आफन्तहरूले जानकारी दिएको छ ।

चक्कु प्रहार घटनामा संलग्न पदमका साथै १८ वर्षीय मक्लु वली पनि पक्राउ गरी घटना सम्बन्धि आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us