संखुवासभामा पहिरोले बगायो तीन घर

काठमाण्डु टुडे २०८१ जेठ ३१ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ ।

गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन । पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको उनले जानकारी दिएका छन ।

पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले जानकारी दिएका छन ।

उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ ।

जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us