क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध जारी

काठमाण्डु टुडे २०८१ जेठ ३० गते १७:५३ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन विजय लामामाथिको उडान प्रतिबन्ध कायमनै राखेको छ ।

गत जुन ३ तारिखमा एक सूचना जारी गर्दै नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामासहित नेपाल वायु सेवा निगमका अर्का पाइलट भावना पन्तलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध गरेको थियो ।

वायु सेवा निगमको वाइड बडी ३३० का पाइलट लामा र न्यारोबडी ३२० का पाइलट पन्तले नागरिक उड्डयन सुरक्षा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गलत र भ्रामक अभिव्यक्ति दिएको भन्दै प्राधिकरणले दुई पाइलटका बारेमा अध्ययन गर्ने बताउँदै निलम्बन गरेको थियो ।

लामाले केही समयअघि नेपाली हवाई उडान र त्रिभुवन विमानस्थलको बारेमा एक वार्तामा गलत धारणा राखेको बताइएको छ ।

यता नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले प्राधिकरणले लगाएको उडान प्रतिबन्धबाट पाइलट भावना पन्तको प्रतिबन्ध फुकुवा भइसकेको तर लामाको अझै जारी रहेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us