काठमाण्डु, ३० जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आज (बुधबार) खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध अख्तियारले मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।
विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी दिएका छन ।