काठमाण्डु, ३० जेठ– काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन ।
गत ८ जेठकम ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको हत्या भएको थियो । प्रहरीले उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल–१ घर भई महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई पक्राउ गरेको हो ।
एकेन्द्र सार्कीको ऋण लाख रुपैयाँभन्दा बढी पुगिसकेको प्रहरीले जानकारी दिएको छ । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
७ जेठको मध्यरातमा साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको घन तथा फलामको रडले हानेर हत्या गरेका थिए ।
उनले पसलको घर्राबाट नगद, रिचार्ज कार्ड, मानबहादुरको मोबाइल र केकैमायाले लगाएको सुनको गरगहना लुटेर भागेको खुलेको प्रहरीले जानकारी दिएको छ ।