मोरङका खोलामा भेटियो गैरदेशीय माछाको नयाँ प्रजाति

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति भेटिएको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि फेला परेको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए। पछि दुई चिनियाँ अनुसन्धानकर्ताहरू जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरूले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति भएको अनुसन्धानबाट प्रष्स्ट गरेका थिए ।

यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ। स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना संकलन गरिएका थिए ।

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरूमा भेटिएको लेखमा उल्लेख छ। हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना संकलित भएका थिए ।

अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बूले भने, ‘यसमा हामीले दुई बाटो अनुमान गरेका छौं ।

कि कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ। जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरू नासिने सम्भावना हुन्छ। यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us