बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– सर्लाही जिल्लाको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि दायर भएको छ ।

भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

थापाले सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी रहेको छ ।

यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ । अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us