काठमाण्डु, २९ जेठ– जिल्ला अदालत काठमाण्डुले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा मुद्धामा दोषी ठहर गरेको छ ।
न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो ।
जिल्लाले उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।
जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो । उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो ।
उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो।