कार्यक्रमस्थलमा बेहोस भएर ढलेका लेखा अधिकृतको उपचारका क्रममा मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, २९ जेठ– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले जानकारी दिएका छन ।

आज मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन रहेको थियो ।

उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए ।

त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ । क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए ।

स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए । पर्वतको कुस्मा जन्मघर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर भएका ५२ वर्षीय केसी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।

डाक्टरहरूका अनुसार उनको अक्सिजनको लेभलमा सुधार नहुँदा मृत्यु भयो । उनको शव अस्पतालको शव गृहमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us