एमाले काठमाण्डुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

काठमाण्डु टुडे २०८१ जेठ २९ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– एमाले काठमाण्डु जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मंगलबार मतदान हुँदैछ ।

सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन ।

एमाले काठमाण्डु जिल्ला कमिटिको अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।

अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us