काठमाण्डु, २८ जेठ– सुदूरपश्चिम प्रदेशमा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएका छन ।
जस अनुसार एमालेबाट प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतले जानकारी दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् ।
प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।