काठमाण्डु, २८ जेठ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन सेञ्चुरी बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।
सीआईबी को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको सिआईबी स्रोतले जानकारी दिएको छ ।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारीहरुलाई पक्राउ गरीएको थियो ।
उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ ।
उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।