रुकुम पश्चिममा जीप दुर्घटना, ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २८ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने तिन जना घाइते भएका छन ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

रुकुमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन । दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिएका छन ।

विक र खनालको अवस्था गम्भीर रहेको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ ।

अर्का घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us