मधेशमा मुख्यमन्त्री लिने प्रस्ताव स्वीकारेनौंः माधव नेपाल

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन ।

आज (शनिबार) पार्टी मुख्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले प्रस्ताव अस्वीकार गरेको बताएका छन । उनले भने, ‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो ।

यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौं’, उनले भने, ‘परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।’

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन् । अध्यक्ष नेपालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका सकारात्मक रहेको पनि दाबी गरेका छन ।

उनले भने, ‘कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौं । उहाँले मधेश प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, वागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो ।

उहाँले खेलेको भूमिका पोजेटिभ छ’ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफूले सकारात्मक हुन आग्रह गरेको नेता नेपालले बताए । ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ ।

उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us