एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन: नेता खनाल

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन ।

आज (शनिबार) सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीम नेता खनालले यस्तो बताएका हुन । उनले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताएका छन ।

उनले भने, ‘पार्टी कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो, अहिले हाम्रो पार्टी महाधिवेशनमा अगाडी बढ्दै छ, यो महाधिवेशनले नयाँ कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ, ‘कसले यो हल्ला फिँजाएको छ सबै बेकारको कुरा हो अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ ।’

नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

उनले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने बताएका छन ।

नेकपा एकीकृत समाजवादी को यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने जनाएका छन् ।

महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पूर्याउछ, पार्टी नेतृत्वलाई रूपान्तरण गर्दछ, अव को अध्यक्ष बन्ने भन्ने बारेमा महाधिवेशनले निर्णय गर्छ, महाधिवेशन सर्वोपरि भएको हिसाबले हामीले सबै कुरा छोडिदिएका छौ’ खनालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us