गण्डकी मुख्यमन्त्री पाण्डेलाई विश्वास मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

गण्डकीमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दल नेता पाण्डे मुख्यमन्त्री भएका छन । गत जेठ १६ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन्। यहाँ बहुमतका लागि ३१ जना सांसद आवाश्यक पर्दछ । पाण्डेसँग अहिले कांग्रेसको २७ सिट मात्र छ ।

विश्वासको मत पुग्न ३१ सिट चाहिन्छ । त्यसका लागि राप्रपाका २ सिट, स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँगै अर्को सिट पनि आवश्यक पर्छ । सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग गरिएको छ।

‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ ।

मुख्यमन्त्रीले लिने विश्वास मतले गण्डकी प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूका बीचमा नयाँ विश्वास तथा सहकार्यको वातावरण बन्नेछ भन्‍ने कुरामा कांग्रेस विश्वस्त रहेको सभापति देउवाले पठाएको पत्रमा उल्लेख रहेको स्रोतको भनाइ छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us