समीकरण फेरबदल हुँदा राजदूत फिर्ता बोलाउने प्रचलन नै हो: सञ्चार मन्त्री शर्मा

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको दाबी गरेको छ ।

समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।

आज (शुक्रबार) बिहीबारका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री शर्माले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘११ देशका राजदूत फिर्ता बोलाउने निर्णय र प्रधानमन्त्री भारत जाने विषय जोडिएको छैन ।’ मन्त्री शर्माले विगतमा पनि सत्ता समीकरण फेरबदल हुँदा राजदूतहरू फिर्ता बोलाउने गरिएको बताएकी छन ।

उनले भनिन, ‘विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो’ ‘यो ठिकबेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ ।

तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’ उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा राजदूतहरू फिर्ता बोलाएको पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us